ट्रम्पको कदम कति आत्मघाती ?

0

प्रा. मुक्तदर खान

एक वर्षअघि अमेरिकी राष्ट्रपति निर्वाचनमा जित हासिल गरेर डोनाल्ड ट्रम्पले सबैलाई अचम्ममा पारेका थिए । उनका समर्थकले यस जितको श्रेय उनको ‘अमेरिका फस्र्ट’ नीतिलाई पनि दिएका थिए । ट्रम्पले ‘अमेरिका फस्र्ट’ नीतिलाई नाराका रूपमा उपयोग गरेका थिए । उनले यसअन्तर्गत सुरक्षा, अमेरिकी हित र अमेरिकी नागरिकको चिन्तालाई प्राथमिकता दिने वाचा गरेका थिए ।

ट्रम्पले यस नीतिअन्तर्गत राष्ट्रिय सुरक्षा, अर्थ व्यवस्थामा गति, सैनिक शक्तिमा वृद्धि, सीमा सुरक्षा र सम्प्रभुताको रक्षा जस्ता वाचा गरेका थिए । ट्रम्पले अमेरिका र अमेरिकी नागरिकको हितसित कुनै सम्झौता नगरिने बताएका थिए । यद्यपि, ट्रम्पको रणनीतिक वक्तव्य र उनको अवधारणामा प्रस्ट विरोधाभास देखिन्छन् ।

अमेरिकी नीतिमा विरोधाभास
दोस्रो विश्वयुद्ध समाप्तिपछि अमेरिकाले संसारबाट एक्लै रहने नीति त्यागेको थियो । अमेरिका त्यतिखेरदेखि वैश्विक सम्पर्क बढाउने र वैश्विक शान्तिलाई लिएर पर्याप्त अग्रसर देखिँदै आएको छ । यी दुवै विषय अमेरिकी नीतिमा प्राथमिकताका रूपमा रहँदै आए । दोस्रो विश्वयुद्धपछि वैश्विक संस्थाको निर्माण भयो र उनमा व्यापक रूपमा लगानी पनि भयो ।

संयुक्त राष्ट्रसंघ तथा विश्व बैंक जस्ता संस्थालाई अमेरिकी वैश्विक दृष्टिकोणको प्रमाणका रूपमा पनि हेर्न सकिन्छ । एकातिर अमेरिका संसारको नेतृत्वको दाबी पनि गर्छ र अर्कातिर ‘अमेरिका फस्र्ट’ नीतिको वकालत पनि गरिरहेको छ । दुवै कुरा एकसाथ सम्भव छैन । यस्तोमा ट्रम्पको यस नीतिमा विरोधाभास प्रस्ट महसुस गर्न सकिन्छ । कुनै देशले वैश्विक घटनाक्रमलाई उपेक्षा गरेर आफू संसारको रक्षक बन्ने दाबी कसरी गर्न सक्छ ?

एकातिर अमेरिका संसारको नेतृत्वको दाबी पनि गर्छ र अर्कातिर ‘अमेरिका फस्र्ट’ नीतिको वकालत पनि गरिरहेको छ । दुवै कुरा एकसाथ सम्भव छैन । यसबाट ट्रम्पको नीतिमा विरोधाभास प्रस्ट महसुस गर्न सकिन्छ ।

हालैका दिनमा अमेरिका कैयौँ वैश्विक घटनामा एक्लो देखिएको छ । ट्रम्पले अचानक जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिए । तर, संयुक्त राष्ट्रसंघको सभामा यस विषयलाई लिएर भएको मतदानमा अमेरिका नराम्ररी एक्लियो ।

अमेरिकालाई दीर्घकालीन घाटा
‘अमेरिका फस्र्ट’ नीतिअन्तर्गत वैश्विक आर्थिक प्रतिबद्धतासित जोडिएका कोषहरूमा सहयोग कटौतीका कारण उसलाई तात्कालिक रूपमा त फाइदा नै हुन सक्छ । तर, लामो समयका लागि उसलाई घाटा नै हुनेछ । अमेरिकाले यस नीतिका साथमा संसारको नेतृत्व गर्न सक्दैन । उदाहरणका रूपमा पेरिस जलवायु परिवर्तन सम्झौतालाई नै हामी हेर्न सक्छौँ । अमेरिका यहाँ पनि ट्रम्पकै कारण एक्लो भयो । यस शताब्दीमा जलवायु परिवर्तनलाई सबैभन्दा महत्वपूर्ण वैश्विक मुद्दाका कारण हेरिँदै छ ।

पेरिस सम्झौताबाट अमेरिकाले आफूलाई अलग गरेको छ । अमेरिका अलग भएपछि फ्रान्स र चीनले यस मुद्दामा संसारको नेतृत्व गरिरहेका छन् । आधा शताब्दीभन्दा बढी समयदेखि संसारले अमेरिकी नेतृत्वमा विश्वास गर्दै आयो । अब अमेरिकालाई लागिरहेको छ कि उसलाई बाँकी दुनियाँबाट अलग भएर आफ्नो चिन्तामाथि मात्र ध्यान दिनु आवश्यक छ । यस्तोमा संसारले एउटा नयाँ नेतृत्वतर्फ ध्यान दिन थालेको छ । युरोपेली देश पहिल्यैदेखि जर्मन चान्सलर एंगेला मर्केलको नेतृत्वको पक्षमा देखिँदै छ ।

अमेरिकापछि संसारको नेतृत्व कता ?
अक्टोबर २०१७ मा प्रसिद्ध म्यागजिन ‘द इकोनोमिस्ट’ ले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई संसारका सबैभन्दा शक्तिशाली नेताको संज्ञा दिएको थियो । यी घटनाक्रमबाट हामी बुझ्न सक्छाँै कि संसारको नेतृत्वको विषयमा अमेरिका कता गइरहेको छ ? अब संसारको नेतृत्व या जर्मनीले गर्नेछ या चीनले या अझै अमेरिका नै नेतृत्वमा रहन्छ त ?

यस विषयमा म्यान्मारमा नरसंहारको सामना गरेका रोहिंग्यासित सोधे हुन्छ । उनीहरू सीमामा आफूलाई सुरक्षित बाहिर निकाल्नका लागि चिनियाँ या जर्मन नौसैनिक, कसको प्रतीक्षा गरिरहेका थिए ? राष्ट्रपति ट्रम्पद्वारा जेरुसेलमलाई लिएर दशकौँ पुरानो नीति छाडेपछि प्यालेस्टाइन जर्मनीतर्फ गएको देखियो या चीनतर्फ ?

जुन क्षेत्रमा अमेरिकाले चासो कम देखाइरहेको छ या ऊ नकारात्मक छ, त्यहीँ अधिकांश पर्यवेक्षक र नेता अन्य देशतर्फ हेरिरहेका छन् । मानिसहरूलाई लाग्छ कि अमेरिका फस्र्ट नीतिका कारण यी क्षेत्रमा एक किसिमको शून्यता आएको छ ।

चीनसित कति शक्ति छ ?
चीनको साथमा त्यस्तो सैन्य शक्ति छैन, जसको बलमा उसले पृथ्वीभर जहाँसुकै आफ्नो शक्ति प्रदर्शन गर्न सकोस् । यस्तोमा ऊ सीमित सीमासम्म मात्र संसारको नेतृत्व गर्न सक्छ । चीनको अर्थ व्यवस्था निकै बलियो छ । किनकि, उसले वैश्विकस्तरमा अमेरिकाले जस्तो दशकौँदेखि संसाधनमाथि खर्च गरिरहेको छैन । के चीनको अर्थ व्यवस्थाले विश्वको दशा र दिशालाई सन्तुलित गराउने भार उठाउन सक्छ त ? सबैभन्दा महत्वपूर्ण विषय यो हो कि के चीनले संसारको नेतृत्वतर्फ आफ्नो कदम बढायो भने अमेरिकालाई उसका स्वार्थसाथ नियन्त्रित गर्न सक्छ त ?

(खान अमेरिकास्थित डेलावेयर विश्वविद्यालयका प्राध्यापक हुन्)
बिबिसी डट कम/हिन्दीबाट

You might also like More from author

Leave A Reply

Your email address will not be published.