जेलमा भएका बालकृष्णलाई लेखेको पत्र किन भाइरल बन्दैछ हेर्नुस् पत्र सहित

0

आदरणीय कमरेड बालकृष्ण, क्रान्तिकारी अभिवादन ।

गणतन्त्र ल्याएको आरोपमा जसरी तपाईँलाई गिरफ्तार गरिएको छ । जनताले आफ्नो भविश्यको फैसला आफै गर्ने व्यवस्था ल्याउन तपाईँले भूमिका खेलेकै कारण तपाईँलाई जेल हालिएका सारा श्रमजीविहरुले बुझेका छन् । उनीहरु तपाईँलाई सम्झँदै रातदिन रोइरहेका छन् कमरेड । जनताको भविश्यको लागि आफ्नो जीवनको बाजी लगाउने तपाईं र तपाईँजस्ता योद्धा जेलमा राखेर कमान्डरहरु सरकार र पार्टीको मुल्य गरिरहेका छन् ।

आफूसँग जनताले प्रश्न गरिरहेका छन्, जनयुद्धको जिम्मेवारी प्रचण्डले लिएका हुन् भने किन तपाईँलाई मात्रै जेल हालियो ? किन प्रचण्ड, बाबुराम र बादल महराहरु बोल्दैनन् ? हातमा हात काधमा काध मिलाउने उद्घोस गरेका नेतृत्वहरु तपाईँलाई जेल पठाएर किन आनन्दित भएका होलान् ? यी र यस्तै प्रश्न जनताले गरिरहेका छन् । यसको उत्तर हामीसँग छैन । सम्झँदा आक्रोस र पीडाले धड्कन निकै बढेको बढै छ । के गर्ने आफूलाई कन्ट्रोल गर्नुको विकल्प छैन ।

 

बाचेर पनि मरेसरह भएका जनयुद्धका कमाण्डरभन्दा नझुक्ने बरु जेलको सामना गर्ने हिम्मतप्रति सर्वहारा वर्गले सलाम गरेको नै छ । तर, गणतन्त्रलाई भजाएर सत्ता–भत्ता र लत्तामा बिकेका मान्छेलाई घृणा छ । यी दुई दिन सत्ता भत्तामा रमाउनुको कुनै अर्थ छैन । तपाईँले हिजो सत्यको बाटो हिडेकै कारण यो अवस्थाको आएको हो । क्षणिक रुपमा जेलमा कैद भएपनि सत्य पुष्टि भएरै छोड्छ कमरेड । तपाईँ हिजो पनि सत्य र भोली पनि सत्य हुनुहुनेछ । सत्यविरुद्ध जालझेल षड्यन्त्र जति गरेपनि टिक्ने छैन । तपाईंको सत्यलाई दुईचार दिन कसैले अपहरण गरेपनि विचार मार्न कसैले सक्नेवाला छैनन् ।

आदरणीय कमरेड, वर्गीय नाताले म यति बेला एकदमै भावुक निराश र आँखाबाट आसुका धारा बगिरहेका छन् । सुन्दर संसार निर्माण गर्ने भन्दै जनयुद्धको नेतृत्व गरेका कमाण्डर आफै रछ्यानमा पुगेको देख्दा निकै उद्देलित बनाउछ । जनयुद्धको कमाण्डरले गरेको आत्मसमर्पण गरेकै कारण तपाईँलाई पिजडामा राखिएको हो । त्यो पालो हाम्रो पनि आउनेछ । यो कुरा हामीलाई राम्रोसँग थाहा छ । कि त हामीले आत्मसमर्पण गर्न तयार हुनुपर्ने छ नत्र जेल जान तयार हुनुपर्ने छ । अहिले तपाईँको गिरफ्तारीले सहिद परिवार पनि चिन्तित छन् ।

कमरेड, सँगै जनयुद्ध लडेकाहरु कोही आफैले ‘खसीको टाउको झुण्ड्यार कुकुरको मासु बेच्ने’ भनेर गाली गरेको घरको ढोकाभित्र प्रवेश गरिसकेका छन् भने कोही फेरि यात्रामै छन् । त्यसैगरी जनयुद्धका घाइते योद्धाहरु शरीरभरी बम र गोलीका पोका बोकेर मरुभूमिमा भेडाको गोठालो लागेर शरीरका अंगबाट पिप निचोर्दै गुजरा गरिरहेका छन् । म आफैपनि जीवन गुजराकै लामो समय विदेशी भूमिमै त्यसैगरी पसिना र आँसु बगाएर फर्किएको हुँ । नेपालमै सुन्दर संसार देखेका युवाहरु विदेशमा आफ्नो भविश्य देख्नु पर्ने अवस्था दोहोरिएको छ ।

सहिद परिवार बेपत्ता परिवारको घरमा यसबेला रुवाबासी छ । किनभने गणतन्त्र ल्याउनेहरु अपराधी हुनेभए, हाम्रा छोराछोरीले बगाएको रगत खेर गयो भन्दै रुँदै बसिरहेका छन् । तपाईँको गिरफ्तारीले सहिद परिवारलाई थप पीडा थपिएको छ । कमरेड, तपाईँको घाइते शीरर पिजडाभित्र बिताउन निकै नै कष्ट भएको होला तर यहाँ क्रान्तिकारीहरु अझै मुक्तिको सपथ खाइरहेका छन् । जेलनेल र लुटतन्त्रविरुद्ध क्रान्तिको रथ अगाडि बढिसकेका छन् ।

क्रान्तिको गतिसँगै हाम्रो मिलनको लागि सोँचेको बर्गिय सत्ता बिना सम्भव छैन । तपाईंलाई पिजडामा कैद गरिएको छ भने हामी जेल नगए पनि दुःखको जीवन जेलमै भएजस्तो गरि बिताइरहेका छौं । तर जनयुद्धका कमाण्डरहरु व्यक्तिगत जीवनमा फर्केका छन् । उनीहरुलाई न तपाईँ जेल पर्दा चिन्ता छ न हामीले घाइते शरीर बोकेर खाडी जाँदा । यसको नीजि जीवनसँग कुनै साइनो नै छैन ।

कमरेड, तपाईँ गिरफ्तार हुँदा प्रचण्ड–बाबुरालाई नदुखेपनि हामीलाई भने भतभती पोलेको छ । हामीले आवश्यक परे बालकृष्ण बन्न तयार भएका छौँ । हामीले भनेको पनि छौं, सक्छौं भने सबै उत्पीडितहरुको घरघरमा वारेन्ट पुर्जी टाँस । बालकृष्णको भौतिक शीररलाई जेलमा हालेपनि विचारलाई भने कैद गर्न सक्ने छैनन् । तपाईँ जेल जाँदा हजारौं बालकृष्ण बन्न तयार भएका छन् ।

कमरेड तपाईँले प्रचण्डलाई लेखेको पत्र पनि पढेँ । त्यो भन्दा पहिला मैले तपाईँको विषयलाई लिएर प्रचण्डलाई खुल्लापत्र लेखेको थिएँ । आम सर्वहारा वर्गले तपाईँको स्वास्थ्यको चिन्ता पनि गरेको छ । स्वास्थ्यको ख्याल गर्नुहोला । प्रचण्ड र बाबुरामको लागि तपाईँ आवश्यक नभएपनि आम गरिखाने वर्गको लागि तपाईँको आवश्यकता छ । तपाईँसँग ठूलो आशा गरेका जनताको लागि अझै धेरै गर्नुछ । त्यसैले उनीहरु एक दिन पर्खाल तोड्न आउनेछन् ।

कमरेड, धेरै लेख्ने भनेर सुरु गरेको थिएँ । तर, हात काप्यो, मुटुको भड्कन बढेर भन्न खोजेको कुरा पनि समजमा आएन । केही हरफ कोरे । पत्रको अन्त्यमा छु । बहुसंख्यक जनताको सुन्दर, सुखद र समृद्ध संसारको उदय नभएसम्म उत्पीडितहरु सबै महाजेलभित्र नै छन् । हामी जेल बस्नु र घरमा बस्नु अर्थ थोरै फरक भएपनि हाम्रो आस्थाको साम्यवाद नआउँदासम्म शासकहरुको दमन जेल भन्दापनि कम चुनौती छैन । क्रान्तिले पूर्णता पाएको छैन । तपाईँलाई माया गर्ने वर्गले भेटको प्रतिक्षा गरिहेको छ । प्रतिक्षाको घडी सकियो भने डिल्लीबजारमा उकालो हुँदै तपाईँलाई भेट्न आउनेछन् ।

हवस्त उही टिकाराम ओली, पूर्व जनमुक्ति सेना

You might also like More from author

Leave A Reply

Your email address will not be published.